काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् ।
सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको सांसद गिरीको भनाइ थियो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताए ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्षसरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए । सांसद गिरीले भने मेयर शाहलाई सलाम गरेको भन्दै जवाफ दिएका छन्, ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो ।’
सांसदलाई आफ्नो भूमिका निर्वाह गर्न कठिन रहेको गिरीको भनाइ थियो ।