काठमाडौं । सरकारले सगरमाथा आरोहीको पहिचानका लागि अब ब्याच र परिचयपत्र दिने भएको छ । सगरमाथा हिमालको सफल आरोहीलाई कदर र सम्मान गर्न सरकारले अब औपचारिक ब्याच र परिचय पत्र दिन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सोही अनुसार मन्त्रालयले ब्याच तथा परिचयपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि तयार पारेको छ ।
कार्यविधि अनुसार सगरमाथा आरोहीले ब्याच तथा परिचयपत्र प्राप्त गर्न पर्यटन विभागमा तोकिएको ढाँचामा निवेदन दिनु पर्छ । ती निवेदनको परीक्षण गरी निवेदकलाई सम्मान स्वरुप विभागले ब्याच र परिचय पत्र प्रदान गर्ने भएको छ । निवेदन जुनसुकै माध्यमबाट पेश गरेपनि ब्याच र परिचपय पत्र प्राप्त गर्न भने आरोहीले स्वयमः विभागमा उपस्थित हुनु पर्ने कार्यविधिमा उल्लेख छ । ब्याच र परिचयपत्रको अभिलेख विभागमा राखिने छ । यस्तो विवरण हरेक वर्ष प्रकाशन हुने ‘फ्याक्ट र फिगर’ पुस्तकमा प्रकाशित हुने भएको छ ।
यसरी पाइने ब्याच र परिचय पत्र आरोहीको सम्मानका लागि मात्र भएकाले आरोहीले यसलाई कुनै पनि प्रकारको सेवा, सहुलियत, सुविधा वा छूटमा दावि गर्न पाइने छैन । यसरी मागेको पाइएमा ब्याच र परिचय पत्रको दुरुपयोग गरेको मानिनेछ ।
मन्त्रालयका अनुसार यस्तो प्रकृतिको ब्याच तथा परिचयपत्रले राज्यको हिमाल आरोहण बाहेक अन्य कुनै पनि पहिचानको आधारलाई जनाउँदैन । आरोहीले ब्याच र परिचय पत्र हराएमा पुनः प्राप्त गर्न नसक्ने तर, विभागले तोकेको शुल्क तिरेर भने पुनः प्राप्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।