गोरखामा बरामद टल्किने ढुङ्गाको जाँच सकियो

न्युजलय २५ साउन २०८०, बिहिबार ०२:५३ मा प्रकाशित

गोरखा । गोरखामा प्रहरीले बरामद गरेको टल्कने ढुङ्गाको जाँच सकिएको छ । खानी तथा भूगर्भ विभागले गरेको जाँच पछि उक्त ढुंगा क्वार्ज क्रिस्टल रहेको पत्ता लागेको हो । 


जिल्ला प्रशासन कार्यालयलाई नमुना परीक्षणबारे जानकारी गराउँदै विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बरामद भएको ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्न पत्थर भएको बताइन् । भूगर्भविद्को टोलीले ढुङ्गाको नाप तौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । 


५२ किलो तीन सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने र यो त्यसमै एक भएको उनले बताइन् । 


प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएको असार १४ गते यो ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिद÷बिक्रीका लागि कुरा चलेपछि प्रहरीले ढुङ्गा बरामद गरेको हो । तर उक्त घरका घरधनीले भने ढुंगा आफूले लामो समयदेखि पुजा गर्दै आएको बताएका छन् । 


क्वार्ज क्रिस्टल मुख्यरूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटरजस्ता विद्युतीय उपकरणहरूमा पनि केही रूपमा क्वार्ज क्रिस्टलको प्रयोग गरिन्छ । 


अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा बरामद गरिएको ढुङ्गा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ ।तर गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले भने ऐतिहासिक र धार्मिक हिसाबले पत्थरलाई गोरखामै राख्नुपर्ने माग गरेका छन् ।