घोडेटार । सुनसरीको चतराबाट भोजपुरको सिम्लेसम्म कोशी नदिमा सञ्चालन भई राखेको पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा स्थानीय सरकारले चासो दिएको छ ।
बोट सञ्चालकहरुले गाउँपालिका तथा नियमन निकायहरु सँग आधिकारिक छलफल नगरी यात्रुहरुलाई जोखिमपूर्ण यात्रा गराएको भन्दै हतुवागढी गाउँपालिकाले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको हो ।
केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए ।
उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वाटरबोट सत्तचालन र यात्रुहरूको सुरक्षाको विषयमा सरोकारवालासँग पत्राचार गर्ने बताएका थिए ।
यस्तै, बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, भाडा दर तथा पानी बोटको स्टेन व्यवस्थापनको विषयमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले चासो देखाएका छन् ।
आइतबार बिहान वडा नं १ का अध्यक्ष किसन मगर, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना, सशस्त्र प्रहरी बेस क्याम चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले सहित पानी बोटको स्टेन चतराघाट पुगेका नगर प्रमुखले स्थलगत अवलोकन गर्दै यात्रुको सुरक्षालाई प्राथमिकता र पर्यटक मैत्री बनाउन बोट सञ्चालकहरूलाई आग्रह गरेका हुन् ।