भ्रष्टाचार नगर्ने भन्दै ल्हारक्यालले बुद्ध र मायादेवीलाई साक्षी राखेर कसम खाए

न्युजलय २६ साउन २०८०, शुक्रबार ०१:१५ मा प्रकाशित

लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर उनले भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । 


बिहीबार बुद्धजन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पुगेर उपाध्यक्ष लामाले पदभार ग्रहण गर्दै उनले आफूलाई उपाध्यक्ष नियुक्ति पछि खेद्ने काम भएको गुनासो गरे । 


उनले आफ्नो जीवन नै बौद्ध धर्म, संस्कृतिको विकासमा सुम्पेको बताउँदै भने, ‘अहिलेसम्मको अनुभवलाई लुम्बिनी विकासका लगाउँछु, यो ठाउँलाई स्वदेश, विदेश सबैको साझा बनाउँछु ।’ 


सरकारले लामालाई साउन १६ गते कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । भ्रष्टाचार, दोहोरो नागरिकता, बैंकको लकरमा गोली राखेको लगायतको आरोप लागेका व्यक्तिलाई लुम्बिनी जस्तो शान्ति क्षेत्रको नेतृत्व सुम्पिएको भन्दै चर्को आलोचना भइरहेको छ ।