काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।
आइतबार दिउँसो नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे नरहेकोलगायत विषयमा परीक्षण गर्नेछन् ।
जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको समाचार प्रकाशित भएको थियो । ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए ।
लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।