काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले विरोधपछि नयाँ हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन शुल्क घटाएको छ।
हेटौंडामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको नवौं महाधिवेशनअन्तर्गत भोलि हुने चुनावको लागि उम्मेदवारको मनोनयन शुल्क तोकिएको थियो । अध्यक्षमा ३० हजार, वरिष्ठ उपाध्यक्षमा २५ हजार, उपाध्यक्षमा २० हजार, महासचिवमा २५ हजार, उपमहासचिवमा २० हजार, सचिवमा २० हजार, कोषाध्यक्षमा २० हजार, केन्द्रीय सदस्यमा १५ हजार, लेखा समिति संयोजकमा २० हजार र केन्द्रीय लेखा समिति सदस्यमा १५ हजार शुल्क तोकेको थियो ।
यतिधेरै शुल्क लिन लागेकोमा प्रतिनिधिले विरोध गरेपछि अध्यक्षमा २० हजार वरिष्ठ उपाध्यक्षमा १० हजार, उपाध्यक्षमा १० हजार, महासचिवमा १० हजार, उपमहासचिवमा १० हजार, सचिवमा १० हजार र कोषाध्यक्षमा १० हजार शुल्क तोकिएको छ । यस्तै केन्द्रीय लेखा आयोग संयोजकमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार र केन्द्रीय लेखा समिति सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।
९ वर्षपछि युनियनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेको हो । संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र संस्थापन इतरबाट शिव लम्साल चुनावी मैदानमा छन् । उनीहरू प्यानल नै बनाएर चुनाव लड्दैछन् ।