काठमाण्डौ । गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेका पाँच कम्पनीलाई कारबाही गरिएको छ।
गुणस्तर तथा नापतौल विभागले गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो।
विभागले सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ।
सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो।
कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमुना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन। विभागले तीनै सिमेन्ट उद्योगका उत्पादन बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ।
यस्तै श्री ग्यासको बोटलिङ बन्द विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेसन नै बन्द गराएको छ। उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।