काठमाडौँ । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार(आज) दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिए ।नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।
सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।