नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भेटिएको पुष्टि

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०७:२६ मा प्रकाशित

बिबिसी । नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

सोमवार(आज) मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

विश्वका धेरै देशहरूले दक्षिण अफ्रिका सहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ।

नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।