काठमाडौं । पाँच दिनदेखि आमरण अनशसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य झन् जटिल हुँदै गएको छ । डा केसीले औषधि लिन नमानेका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको डा अमृत जैसीले बताए ।
आफू जनताका लागि लडिरहेको हुँदा स्वास्थ्य स्थिति तल माथि हुँदैमा औषधि र खाना सेवन नगर्ने अडान केसीले राख्दै आएका छन् । उनको स्वास्थ्य अवस्था बिग्रन थालेपछि सेती प्रादेशिक अस्पतालले उनलाई भेटमा पनि रोक लगाएको छ ।
गत सोमबारदेखि डा केसीले सात बुँदे माग राख्दै धनगढीको कृष्ण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सत्याग्रह सुरु गरेको दोस्रो दिन नै उनको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
सत्याग्रहका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि सरकारले औपचारिकरुपमा अझै पनि डा केसीका मागप्रति संवाद सुरु नगरेको उनका सहयोगी डा जैसीले बताए ।
सरकारको प्रतिनिधिका रुपमा डा प्रमोद जोशी केसीलाई भेट्न आए पनि उनले समस्या समाधान गर्न सक्ने हैसियत भएको वार्ता टोलीसँग कुरा गर्ने अडान लिएका थिए । डा केसीका सहयोगी नागरिक अगुवा प्रमोद पाठक डा केसीले आलटाल गर्ने खाले सम्झौतामा अनशन नतोड्ने बरु ज्यान गए पनि जान्छ भनेको बताए ।