कोरोना संक्रमण बढेपछि विद्यालय बन्द गर्न अभिभावकहरूको माग

न्युजलय २४ पुस २०७८, शनिवार १२:२३ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि अभिभावकहरूले विद्यालय बन्द गर्न माग गरेका छन्।


उनीहरुले शुक्रबार शहरी क्षेत्रमा सञ्चालन भएको भौतिक पठनपाठन बन्द गर्न माग गरेका हुन्। नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले कोरोनाको तेस्रो लहर आएको अनुमान विज्ञहरूले गरेको भन्दै भौतिक पठनपाठन बन्द गर्न माग गरे।


उनले भने,‘स्वास्थ्यविदहरूको विचारलाई समेत मध्यनजर गर्दा माघ महिनामा नेपालमा कोरोनाको तेश्रो लहर आउन सक्ने अनुमान र हालै नेपालमा समेत ओमिक्रोन भेरियन्ट भेटिएको सन्दर्भ छ। सबै बालबालिकाले खोप नपाएको स्थिति रहेकाले बन्द गर्न उपयुक्त हुन्छ।’


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ र ६ हजार ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९६ जनामा संक्रमण देखिएको हो।