बेलायतले माग्यो १० हजार नेपाली नर्स

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०३:५० मा प्रकाशित

काठमाडौं । कामदार भिसामा बेलायतले १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । 

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने प्रकृया थालिएको बताए । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि नर्स पठाउन बेलायतसँग सम्झौता गर्न लागिएको जानकारी दिए । 

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले बताएका छन् । उनका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता भए सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

मन्त्रालयका अनुसार बेलायत पठाइने नर्सको तलब मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी हुनेछ । मन्त्रालयले रोजगारी सुनिश्चितता, स्वास्थ्यररोजगार र अन्य बीमा, पारिवारिक सुविधा, नेपाल आउने जाने खर्च र तलब एकीन गरी बेलायत जान लाग्ने खर्च पनि बेलायतस्थित रोजगारदाता कम्पनीले नै ब्यहोर्नेगरी सम्झौता हुने मन्त्रालयले जनाएको छ ।