छिमेकी नगर चिढ्याउँदै धरानका मेयर साम्पाङ, बराहक्षेत्रले रोकिदियो पाइप विस्तार

हिमाल दाहाल १५ बैशाख २०८०, शुक्रबार ०९:०४ मा प्रकाशित

धरान । धरानको खानेपानी समस्या समाधान गर्नका लागि मेयर हर्क साम्पाङले कोकाहा खोलाबाट पानी ल्याउने अभियान चलाइरहेका छन् । 

जसको लागि बराहक्षेत्र नगरपालिका हुँदै पाइप लाइन विस्तार गरिरहेका छन् । उक्त अभियानमा धेरै मानिसहरुले समय, श्रम र पैसा सहयोग गरिरहेका छन् । तर हालै मात्र मेयर साम्पाङले धरानको सीमाको विषयलाई लिएर दिएको एक अभिव्यक्तिपछि बराहक्षेत्रले पाइप विस्तार रोकिदिएको छ । बराहक्षेत्रका मेयर रमेश कार्की आफै पुगेर आफ्नो नगर क्षेत्रमा भइरहेको पाइप विस्तारको काम तत्काल रोक्न भनेका हुन् ।

कार्कीले पाइप विस्तारको काम रोक्न भनेसँगै धरानका मेयर साम्पाङले भने खानेपानीमा राजनीति नगर्न भन्दै फेसबुक स्टाटस लेखे । तर यो अवरोधको खास कारक भने साम्पाङ आफ्नै अभिव्यक्ति हो ।


यस्तो छ बराहक्षेत्रले अवरोध गर्नुको कारण

धरानमा खानेपानी समस्या चुलिएर स्थानीयमा आक्रोश बढीरहेकै बेलामा मेयर साम्पाङले इटहरीसँग सीमा विवाद झिके । त्यती मात्र होइन उनले जीआइएसअनुसार धरानको क्षेत्रभित्र बराहक्षेत्रले संरक्षण र उपयोग गरिरहेको अमाहा सिमसार पनि पर्ने जिकिर गरे ।

मेयर साम्पाङले अमाहा सिमसार आफ्नो हो भनेर वक्तव्य दिएपछि बराहक्षेत्रका मेयर रमेश कार्कीले पनि आफ्नो नगरबाट विस्तार गर्न लागिएको पाइप लाइनमा अवरोध गरेका हुन् ।

‘आज अमाहा मेरो हो भन्ने, भोलि चियाबारी र यो सबै पहाड मेरो हो भन्ने होला,’ उनले भने, ‘अनि हामी हाम्रो नगरपालिका वरिपरी मात्र हाम्रो भनेर बस्ने ?’

उनले धरानसम्म पानी पुर्याउनका लागि आफ्नो नगरपालिकाको भुभाग दिन आफू तयार रहेको भन्दा भन्दै पनि धरानले आफ्नो अमाहा सिमसार आफ्नो हो भनेपछि उनी रिसाएका हुन् ।

उनले अब यो विषयलाई नगरपालिका तहबाट नभइ जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको रोहबरमा छलफलबाट निर्णय गरेपछि मात्र अघि बढाउने उनले अडान लिएका छन् । 

यसअघि पनि उनले धरानको कार्यपालिका बैठकले कोकाहाबाट खानेपानी ल्याउने विषयमा आधिकारीक निर्णय गर्न माग गर्दै धरानलाई पत्र पठाएका थिए । जसको जवाफ धरानले दिन सकेको छैन । किनकी यो अभियानलाई मेयर साम्पाङले व्यक्तिगत अभियान जसरी अघि बढाइरहेका छन् । कार्यपालिका बैठकबाट कुनै निर्णय भएको छैन । 

त्यसो त साम्पाङले कार्यपालिका बैठक पनि बसाउन सकिरहेका छैनन् । अरुको कुरै नसुन्ने मेयर साम्पाङको शैलीका कारण वडाध्यक्षहरु आजित छन् । त्यही विवादमा केही समयअघि मात्र पनि मेयरले सबै वडाध्यक्षको राजिनामा माग गरेका थिए । त्यसपछि विवाद झन् चर्केको छ । वडाध्यक्ष र सदस्यहरु कार्यपालिका बैठकमा जानै छाडेका छन् ।


आन्तरिक समस्याकै बिच बाह्य तनाव सृजना गर्दै साम्पाङ

हुन त धरानमा वर्षौंदेखि खानेपानीको हाहाकार छ । तर यो वर्ष समस्या अत्याधिक चुलिएको छ । मेयर साम्पाङले धरानमा खानेपानी ल्याइसकेको झैं गरी प्रचारप्रसार गरिरहेको समयमा हप्ता दिनभन्दा बढी समयदेखि खानेपानी नपाएपछि धरानवासीहरु आक्रोशित छन् ।

धरानमा पानीको हाहाकार चुलिएकै बेलामा मेयर साम्पाङ भने छिमेकी नगरहरुसँग पनि तनाव सृजना गर्न लागिपरेका छन् । 

उनले केही दिनअघि इटहरीको पानीपियामा धरानको सीमा बोर्ड राखिदिए । जसलाई धेरै धरानवासी र बुद्धिजिवीहरुले नै पनि बेमौसमी बाजाको संज्ञा दिए । घरमा समस्या भएर हाहाकार भइरहेको बेलामा छिमेकीसँग जोरी खोज्दै हिड्ने उनको शैलीलाई अधिकतर नगरवासीहरुले नै पनि मन पराएनन् ।

उनले इटहरीले यसअघि उपयोग गरीरहेको पानीपियादेखि सेउती पुलसम्मको क्षेत्रफल आफ्नो हो भने । जसमा स्थानीय इटहरीवासीले लामो समयदेखि संरक्षण र उपयोग गरिरहेको सामुदायिक वन क्षेत्रसमेत पर्छ । 

बराहक्षेत्र र इटहरी मात्र होइन, धरानले जीआइएस अनुसार क्षेत्र दावी गर्ने हो भने रामधुनी नगरपालिकाले वर्षौंदेखि उपयोग, संरक्षण र विकास गरिरहेका पञ्चायन, जुडी सिमसार पनि धरानमा पर्छ । जबकी रामधुनी नगरपालिका वर्षेनी धरानबाट सेउतीको बाढीले बगाएर ल्याउने फोहोरका कारण प्रताडित छ ।

खासगरी कुनैपनि देश होस् वा नगर, आफ्ना छिमेकीहरुसँग सौहाद्र्धपूर्ण सम्बन्ध राखेरै मात्र आफ्ना आन्तरिक समस्याहरुको समाधान गर्न सक्षम हुन्छ । अघिल्ला वर्षहरुमा धरानमा खानेपानीको अभाव हुँदा इटहरीले नै ट्यांकर पानी दिएर सहयोग गरेको थियो । 

यता बराहक्षेत्रले आफ्नो भूमीबाट पाइप लान नदिने निर्णय गर्यो भने धरानको खानेपानी सपना अझै पछि सर्ने देखिन्छ । अझ कोशीबाट पानी ल्याउने गरी धरान उपमहानगरपालिकाले संघीय सरकारसँग सहयोगका लागि लबिङ गरिरहेको छ । त्यसमा पनि बराहक्षेत्रकै भूमी प्रयोग गर्नुपर्ने हुन्छ । 

तर धरानमै पनि स्थानीय नेताहरुसँग समन्वय गर्न नसकीरहेका मेयर साम्पाङ छिमेकीहरुसँगको समन्वयमा झन् चुकेका छन् । जसको असर धरानलाई नै दीर्घकालिन रुपमा पर्ने निश्चित छ ।

 इटहरी–धरान सीमा विवाद : जोतभोगलाई आधार मान्ने कि नक्सालाई ?


बोर्ड हटाउनेलाई कारवाही गरे उत्पन्न परिस्थितीको जिम्मा धरानका प्रमुखले लिनुपर्छ : इटहरी उपमहानगरपालिका