खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

न्युजलय २० बैशाख २०८३, आइतबार ०५:५३ मा प्रकाशित

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। 

स्थानीय ढकालेखोला भीरबाट खस्दा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो दुर्घटना भएको हो। अघिल्लो दिन हराएको खुकुरी खोज्न जाँदा दुवै जना भीरबाट लडेको बताइएको छ। 

बमबहादुरले वैशाख १८ गते घाँस काट्न गएका बेला आफ्नो खुकुरी हराएका थिए। सोही खुकुरी खोज्नका लागि उनले छिमेकी मनीकुमारलाई साथमा लिएर भीरमा पुगेका थिए। 

खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकले अर्कालाई समात्ने क्रममा दुवै जनासँगै खसेको अनुमान गरिएको छ। हाल दुवै जनाको शवलाई पोस्टमार्टमका लागि उदयपुरको बेल्टार लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।