बोर्ड हटाउनेलाई कारवाही गरे उत्पन्न परिस्थितीको जिम्मा धरानका प्रमुखले लिनुपर्छ : इटहरी उपमहानगरपालिका

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०९:०२ मा प्रकाशित

इटहरी । धरान उपमहानगरपालिकाले राखेको सीमा बोर्ड हटाउने युवाहरुलाई कारवाही नगर्न इटहरी उपमहानगरपालिकाले चेतावनी दिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूहरुले राखेको बोर्ड हटाउनेलाई कारवाही गर्न भन्दै इलाका प्रहरी कार्यालय धरानलाई निर्देशन दिएलगत्तै इटहरीले यस्तो चेतावनी दिएको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै कारवाही प्रक्रिया अघि बढाए आफूहरु चुप लागेर नबस्ने उल्लेख गरेका छन् । जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ।

आइतबार दिउँसो मेयर साम्पाङ्ले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो । 

सीमा विवादलाई वार्ता मार्फत समाधान गर्नसमेत आग्रह गरीएको छ । ‘संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साँझा समस्याहरु आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पत्रमा उल्लेख छ ।

२०१० सालभन्दा अगाडिबाट इटहरीको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न सुल्झाउँदै इटहरी र धरानका नागरिकबीच कुनै पनि किसिमको कलह, द्दन्द, द्धैष, बैमनश्यता र  मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न/नगराउन समेत इटहरीले आग्रह गरेको छ ।

इटहरी–धरान सीमा विवाद : जोतभोगलाई आधार मान्ने कि नक्सालाई ?