जापानमा २०२१ मा बाल दुर्व्यवहारको घटना बढ्यो

न्युजलय २१ माघ २०७८, शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाडौं । जापानमा सन् २०२१ मा दुई हजार १७० बाल दुर्व्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । 


यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले वृद्धि हो । कोरोनाभाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)ले बिहीबारको रिपोर्टमा जनाएको छ ।


एनपीएको प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रव्यापी रूपमा १८ वर्षमुनिका बालबालिकाहरूले वा उनीहरूका अविभावकले दुर्व्यवहारमा परेको भन्दै बाल कल्याण केन्द्रहरूलाई सूचना दिएपछि कूल एक लाख आठ हजार ५० मुद्दा दर्ता गरिएको थियो । अघिल्लो बर्ष पनि यो सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष १.० प्रतिशत उजुरी बढेको पाइएको छ । 

 

तथापि, यो अवधिमा जापानमा समग्र अपराधको संख्या पाँच लाख ६८ हजार १४८ रेकर्ड गरिएको छ । यो सङ्ख्या लगातार सातौं वर्षसम्म निरन्तर घटिरहेको एनपीएले बताएको छ ।


हत्या र डकैतीजस्ता गम्भीर अपराधहरू १।३ प्रतिशतबाट घटेर आठ हजार ८२३ भए तापनि अपहरणका घटनाहरूमा १५.४ प्रतिशतले कमी आई ३८९ कायम भएको उक्त रिपोर्टले देखाएको छ ।


एनपीएले कूल ८३ हजार ०३५ घरेलु हिंसा रेकर्ड गरिएको र परामर्श भएको कुरा पनि बताएको छ । 


नाबालिगलगायत झन्डै २० हजार अनलाइन परामर्शहरूमा सहभागिता जनाएको तथ्याङ्कले देखाएको छ ।


यसबाहेक जापानमा साइबर अपराधको घटना २४।३ प्रतिशतले बढ्दा १२ हजार २७५ पुगेको प्रहरी अध्ययनले देखाएको छ ।