२०७८ साल माघ ६ गते बिहिबार

ड्युटी सकियो भन्दै रुकुम उडेको जहाज नेपालगञ्जमै अवतरण

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०१:३९ मा प्रकाशित

काठमाडौं । नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् । 

सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन ।

पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराए । लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगञ्ज अवतरण गरिएको रहेछ ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । 

निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको छ ।