युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताएका छन् ।
रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उनको जोड छ ।
रुसले अस्ति बुधवार आक्रमण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगेका छन् । किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको बीबीसीले जनाएको छ ।
आक्रमणपछि ज्यान गुमाउने सैनिक र गैरनागरिकको फरक फरक विवरण सार्वजनिक भएका छन् । युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म एक हजार जनाभन्दा धेरै रुसी सैनिक मारिएको समेत दाबी गरेको छ । रुसले किएभनजिक मात्रै दुई सय युक्रेनी सैनिक मारिएका जनाएको छ । बेलायतको रक्षा मन्त्रालयले अहिलेसम्म साढे चार सय रुसी सैनिक मानिएको विवरण सार्वजनिक गरेको छ ।
युक्रेनले बेलायत तथा अन्य मित्रदेशलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह पनि गरेको छ । तर रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनी सेनाले आत्मसमर्पण गरेमा वार्ता गर्न मस्को तयार रहेको जवाफ दिएका छन् । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि विश्वभर त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । युद्ध रोक्न अपिल गर्दै प्रदर्शन भइरहेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध रुसकै नागरिकले पनि प्रदर्शन गर्दै आएका छन् ।
हजारौँ नागरिक सडकमा ओर्लिएका त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ । अमेरिकाले रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ ।