प्रावि तहका लागि स्थायी शिक्षकको विज्ञापन खुल्दै

न्युजलय १३ पुस २०७८, मङ्गलबार ०९:१५ मा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । 

माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो । 

प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको आयोगले जनाएको छ । एक दुईदिन भित्रै प्रावि शिक्षकका विज्ञापन प्रकाशन हुने बताइएको छ । 

विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुनेगरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।