४६ घन्टापछि केबुलकारमा अड्किएका सबैको उद्धार, तीन जनाको मृत्यु

न्युजलय ३० चैत २०७८, बुधबार ०८:५९ मा प्रकाशित

काठमाडौं । ४६ घन्टापछि भारतको झारखण्डमा केबलकारमा अड्किएका सबैको उद्धार गरिएको छ।


झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। योसँगै केबलकारमा रहेका ४७ जना अड्किएका थिए।


भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी, स्थानीय अधिकारीको सहायतामा केबलकारमा फसेकाहरूको ४६ घन्टापछि उद्धार गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ। 

 

मन्त्रालयका अनुसार केबलकारमा फसेकामध्ये २ महिलासहित ३ जनाको मृत्यु भएको छ।


केबलकारमा फसेकाहरूलाई ड्रोनको साहयताबाट खानेकुरा पठाइएको थियो।


त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।