रोकेर राखेको ट्याक्टरमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु

न्युजलय ११ मङ्सिर २०८०, सोमबार ०५:४२ मा प्रकाशित

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा रोकेर राखेको ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ ।

प्रदेश १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरमा आइतबार साँझ पूर्वतर्फ जाँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक झापाको दमक नगरपालिका–५ का ३५ वर्षीय सानेकुमार राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको बताइएको छ । 

ट्याक्टर र चालक मोरङको उर्लाबारी नगरपालिका ३ का ४३ वर्षीय कर्णबहादुर याक्खालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।