जनता क्याम्पस कर्मचारी नियुक्ति विवाद : पुरानो प्रक्रिया खारेज गरी नयाँ सुरु गर्न अनेरास्ववियुको माग

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०१:०० मा प्रकाशित

इटहरी । अनेरास्वबियु जनता बहुमुखी क्याम्पस कमिटिले कर्मचारी नियुक्ति प्रक्रियाको नतिजा रद्ध गरी नयाँ प्रक्रिया सुरु गर्न माग गरेको छ । 

एक विज्ञप्ती जारी गर्दै लामो समयदेखि विवादित कर्मचारी नियुक्ति प्रक्रिया रद्ध गरी निष्पक्ष ढंगले कर्मचारी छनोट गर्न माग गरेको हो । क्याम्पसको सञ्चालक समितिले स्थानीय नेताका श्रीमती तथा छोरीहरुलाई नियुक्त गर्ने चलखेल गरेको भन्दै विगतदेखि नै विरोध गर्दै आएको थियो ।

अख्तियारमासमेत मुद्धा परेको भएपनि अहिले क्याम्पस सञ्चालक समितिले सेटिङमा नतिजा सार्वजनिक गरी नियुक्ति प्रक्रिया अघि बढाएको आरोप विद्यार्थी संगठनको छ । ‘अहिले नियुक्त भएका कर्मचारीहरु सबै स्थानीय नेताका आफन्तहरु छन्, उनीहरुलाई सेटिङमा नियुक्त गरिएको छ,’ संगठनका अध्यक्ष उज्वल सिग्देलले भने, ‘एउटा शैक्षिक संस्थामा यो हदको सेटिङ र आफन्तवाद अमान्य छ ।’

यस्तै संगठनले कर्मचारी नियुक्ति प्रक्रियामा कानुन तथा विधान मिच्ने विषयमा क्याम्पस प्रशासन प्रमुख मुकदर्शक भएको भन्दै क्याम्पस प्रमुखको समेत राजिनामा माग गरिएको छ । 

यस्तै बिज्ञप्तीमा जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको पदाधिकारी गठन प्रक्रिया क्याम्पसको विधानको दफा ११ को विपरीत रहेको र मनोनित सदस्यहरुलाई चुन्ने र चुनिने अधिकारबाट बञ्चीत गराइएकोले सो प्रक्रिया खारेजी गरी विधान अनुरुप गठन गर्न माग गरेको छ।

यसैगरी क्याम्पसमा कक्षा सञ्चालन भएको नभएको दैनिकरुपमा अनुगमन गर्नुपर्ने, क्याम्पसले बिरामी विद्यार्थीहरुको प्राथमिक उपचारकालागि राखिएको कक्षलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नुपर्ने, क्याम्पसले गर्ने साप्ताहिक खेलकुद धेरैभन्दा धेरै खेल समावेश गरी चाँडै सञ्चालन गर्नुपर्ने, क्याम्पसको सभाहलमा व्यवस्थीत रुपमा साउण्ड सिष्टमको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।

यस्तै बिज्ञप्तीमा क्याम्पसमा भएको बास्केट बल र भलिवलको खेलमैदान व्यवस्थित गर्नुपर्ने, क्रिकेट अभ्यास गर्न जालीसहितको खेल मैदान बनाउनुपर्ने, क्याम्पसले आफ्नो सम्पूर्ण जग्गा पहिचान गरी व्यवस्थित रुपले घेराबारा गर्नुपर्ने, बिद्यार्थीले यातायातमा भोगीरहेको समस्या पहिचान गरी तत्काल समाधान गर्नुपर्ने, बिद्यार्थीलाई प्रत्येक तलामा व्यवस्थित तवरले खानेपानी व्यवस्था मिलाउनुपर्ने माग छ।

बिज्ञप्तीमा क्याम्पस प्रशासनले मागहरुलाई वेवास्ता गरी अगाडी बढ्न खोजेमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार हुने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतीको जिम्मेवारी क्याम्पस प्रशासन स्वयं हुने चेतावनी दिईएको छ।