चार महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु

न्युजलय १२ असोज २०८३, सोमबार ११:४७ मा प्रकाशित

ताप्लेजुङ । सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई उडान पुनः सुरु भएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले सोमबार उडान गरेको हो ।

दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै उडान पनि सुरु गरिएको विमानस्थलले जनाएको छ  ।

काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानकालागि अहिले सेप्टेम्बरसम्मकालागि सातामा एकदिन सोमबारको तालिका रहेपनि अक्टोबरदेखि सातामा तीनदिन सोमबार, बिहीबार र शनिबार गरी तीन उडान राखिएको छ ।

भाडा दर भने काठमाडौंदेखि ताप्लेजुङसम्मको प्रतिव्यक्ति १२ हजार २ सय ७० र ताप्लेजुङदेखि काठमाडौंका लागि १२ हजार ७० रुपियाँ रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।