एनपीएलमा विराटनगरको लगातार तेस्रो जित

न्युजलय ९ मङ्सिर २०८२, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटमा विराटनगर किंग्स लगातार तेस्रो जितसहित शीर्ष स्थानमा पुगेको छ । एनपीएलको नवौँ खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको हो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । जनकपुरले ९ विकेटको क्षतिमा१२६ रनमात्र बनाउन सक्यो । 

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ विकेट लिए । 

आजको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । सुदूरले यसअघिका दुवै खेल जितेको छ भने कर्णालीले एकमा जित र एकमा हार बेहोरेको छ । 

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म विराटनगर तीन खेलमा सबै खेल जितेर शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिम रोयल्स दुई खेलबाट दुवै खेल जितेर ४ अंकसहित दोस्रो स्थानमा छ ।