विराटनगर । इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् । भारतले चिया आयातमा कडाइ गरेपछि असार १ गते देखि देश भरका चिया उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ ।
भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठुलो बाधा बताइएको छ । जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिन सम्म रिपोर्ट नदिएको जनाइएको छ ।
यस्तो परिस्थितिमा उद्योगहरूले किसानको चियाको भुक्तानी समेत गर्न नसकेको कारण उद्योगहरू बन्द गर्न बाध्य भएको जनाइएको छ । अहिले नेपालका उद्योगहरूमा दश लाख किलो भन्दा बढी तयारी चिया रहेको बताइएको छ ।