माया घरले सञ्चालन गरेको जीवनदर्शन सत्सङ्गको आय ब्यय सार्वजनिक

न्युजलय ५ चैत २०७८, शनिवार ०३:०१ मा प्रकाशित

इटहरी । माया घर नेपाल इटहरीले फागुन २१ गतेदेखि २६ गते सञ्चालन गरेको जीवनदर्शन सत्सङ्गको आयब्यय सार्वजनिक गरेको छ । इटहरीमा पत्रकार सम्मेलन गरेर आयब्यय सार्वजनिक गरेको हो ।

कार्यक्रमबाट कुल ५८ लाख २ हजार १८ रुपैँया आम्दानी भएको र २९ लाख ७८ हजार ६७० रुपैँया खर्च भएको जनाईएको छ । सत्संग कार्यक्रमका समयमा बैंक खाता, आइएमइका साथै भक्तजनहरु प्रत्यक्ष उपस्थित भएर सहयोग गर्दा उक्त रकम प्राप्त भएको संस्थाकी अध्यक्ष राधिका दासीले जानकारी दिइन् । 

कार्यक्रमबाट संकलन भएको रकमबाट ४० लाख रुपैयाँ माया घर नेपालको लागि अक्षयकोषको लागि प्रयोग गरिने बताइएको छ । १ करोड रुपैँया जुटाउने लक्ष्य राखि सत्संग गरिएको थियो । अक्षय कोषको ब्याजबाट मायाघरमा आश्रय लिइरहेका एक सय बढी घरबारविहिन महिलाहरुको पालनपोषणको लागि सहज हुने अपेक्षा गरिएको छ । भरपर्दो आम्दानीको अभावमा महिलाहरुको खाद्यान्न, लत्ताकपडाकै लागि समेत समस्या हुन थालेपछि अक्षयकोष जुटाउनको लागि पुराण लगाइएको सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।

कार्यक्रममार्फत् विभिन्न व्यक्तिले तीन वटा कोठा बनाइदिने प्रतिबद्धता जनाएका छन् । जसको लागि कुल १५ लाख रुपैयाँ लाग्नेछ । 

सडक मानव रहित नेपालको परिकल्पना साकार बनाउन इटहरीबाट सुरु भएको मायाघर नेपालको कामलाई मन पराएर वरपरका विभिन्न स्थानीय तहहरुलेसमेत मायाघरको शाखा स्थापनाको लागि चासो देखाएका छन् । २०७४ सालमा स्थापना भएको माया घर नेपालले अहिलेसम्म चार हजार जनालाई सडकबाट ल्याएर घरमा पुनस्र्थापना गरिसकेको छ भने अहिले पनि मानसिक रोगी तथा असहाय र हिंसा पिडीत एक सय १७ जनाले आश्रय लिइरहेका छन् ।

इटहरी २ मा संस्थाको आफ्नै नाममा साढे ६ कठ्ठा जग्गामा बनेका साना घरहरुमा महिलाहरुले आश्रय लिइरहेका छन् । संस्थालाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न लगभग ४ करोड रुपैयाँ लागतको भवन बनाउने योजनासमेत बनाइएको छ ।