आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा दुई जनाको मृत्यु

न्युजलय ६ माघ २०७८, बिहिबार ०१:२३ मा प्रकाशित

बुटवल । बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर दुई जनाको मृत्यु भएको छ।


तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते भएका थिए।

 

घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।


पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

 

तिनाउ नदी किनारमा जनताको तटबन्ध निर्माणको क्रममा बनेको ढिस्कोमाथि आगो तापेर बसेको समयमा ढिस्कोसँगै खसेको प्रहरीले जनाएको छ।


बुधबार साँझ भएको उक्त घटनापछि स्थानीयले ढिस्कोले पुरिएकाको उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएपछि २ जनालाई चिकित्सकले मृत्यु घोषणा गरेको र तिनजनाको उपचार भईरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।