वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

न्युजलय १८ फाल्गुण २०७८, बुधबार १२:५६ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । 


एमसीसीको विरोधमा हिजो सोमबार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजो सवा ८ देखि आज मङ्गलबार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।


उनले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताए । एमसीसीको विरोधमा हिजो प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । 


प्रजिअ रिजालले मंगलगढी चोक, यरीचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको जानकारी दिए । यी स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।