नुवाकोट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता भीम रावलबिच वाक युद्ध सुरुभएको छ । देउवाले संसदबाट एमसीसी पास गर्नुअघि रावलसमेत रहेको तत्कालीन एमाले नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पास गरेको आरोप लगाएपछि रावलले प्रतिवाद गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सोमबार एमसीसी एमालेको सरकारका पालामा संसदमा पेस भएको र एमालेकै नेता भीम रावलले अहिले एससीसीको बढी विरोध गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए । त्यसबेला रक्षा मन्त्री रहेका रावल आफैंले पास गर्ने र अहिले विरोध गरेर दुई खालको कुरा गरेको आरोप लगाए ।
‘भीम रावलले के हेरेर बसे त्यस बेला ? अहिले किन विरोध गर्दै छन् ? यदि एमसीसी खराब थियो भने राजीनामा दिएर आउनुपर्थ्यो बाहिर ? कहिले के भन्छन्,ु देउवाले भने । उनले नेता रावललाई दुई जिब्रे भएको र ‘लाज पचेको’ समेत भनेका थिए । देउवाले नेपाली कांग्रेस एक भई प्रतिबद्ध भएर निर्वाचनमा जानुपर्ने भन्दै सबैलाई निर्वाचनमा लाग्न आग्रह गरे । साथै स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित गराउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।
देउवालाई रावलको जवाफ : ‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’
जवाफमा नेकपा एमालेका नेता भीम रावलले ट्वीट गर्दै देउवाको भनाइप्रति असहमति जनाएका हुन् । रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । उनले आफु केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री भएको तर, ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफु मन्त्री नभएको दाबि गरेका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्ति झुटो भएको बताउँदै रावलले उल्टै प्रधानमन्त्रीकै दिमाग खुस्केको टिप्पणी गरेका छन् ।
उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । उनले थप बहस गर्ने इच्छा भए बहस गर्न प्रधानमन्त्री देउवालाई चुनौती पनि दिएका छन् ।