ढाका । प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएकी छिन् । साथै उनी बहिनीसहित देश छाडेर भारत पुगेकी छिन् । उनी हेलिकप्टरबाट भारतको अगरतला शहरमा शरण लिन पुगेकी हुन् ।
उनले देश छाडेकै दिन बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सोमबार कम्तीमा ६ जना विद्यार्थी मारिएका छन् ।
बंगलादेशको चर्चित अनलाइन डेली स्टारकाअनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् ।
प्रदर्शनका क्रममा घाइते भएकामध्ये चारजनालाई अस्पताल लगिसकेपछि मृत घोषित गरियो । उनीहरू जत्राबारीको कज्ला क्षेत्रका थिए । दुई जना भने ढाका मेडिकल कलेज क्षेत्रमा मारिएका हुन् ।
गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । देशका धेरै ठूला सरकारी जागिरमा आरक्षण खारेज गर्न विद्यार्थीहरूले माग गरिरहेका छन् ।
विद्यार्थीहरूको आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाएको भए पनि विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामामा अडिग थिए । बङ्गलादेशमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।