काठमाडौँ । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका ३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेश मैनालीले जानकारी दिए।
दुर्लभ वन्यजन्तुको छाला ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित मित्रनगरमा हिँडिरहेको अवस्थामा अर्जुन थिङलाई शंका लागी चेकजाँच गर्दा उनले बोकेको नीलो रंगको झोला खानतलासी गर्दा उक्त झोलाभित्र चितुवाको छाला एक थान फेला परेको थियो। उक्त कार्यमा संलग्न रहेको भन्दै उनीसँगै तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका उनीहरूबाट लम्बाई २ मिटर १० सेमि र चौडाइ १ मिटर ३० सेमि भएको चितुवाको छाला एक थान बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई चितुवाको छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।