मोरङ । मोरङमा ज्वाइँले ससुराको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थितमा आफ्नै घरभित्र शनिबार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको हो ।
मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थलबाट धारिलो हतियार खुर्पा बरामद गरिएको प्रहरीको भनाइ छ । आफ्नै घरभित्र चन्द्रबहादुरको बीभत्स शव फेला परेपनि उनका ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार छन् ।
ससुराको हत्या गरेर उनी भागेको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले रविनको खोजी तीव्र पारेको जनाएको छ । रविन ससुराली घरमा बस्दै आएको खुलेको छ । घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको प्रहरीको भनाइ छ ।
कानुनी प्रक्रिया पूरा गरेर घटनस्थलबाट शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।