काठमाडौं । आईतबार राति सम्पन्न तेस्रो एक दिवसीय खेलमा दक्षिण अफ्रीका भारतमाथि चार रनले विजयी भयो ।
योसँगै तीन एक दिवसीय खेलको श्रृङ्खला दक्षिण अफ्रीकाले ३(० ले जित्दै क्लिन स्वीप गरेको छ ।
केप टाउनमा खेलिएको श्रृखंलाको अन्तिम खेलमा दक्षिण अफ्रीकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा २८३ रन बनाएर अलआउट भएको हो ।
भारतका लागि विराट कोहलीले ६५, शिखर धवनले ६१ तथा दीपक चाहरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि यो जीतका लागि पर्याप्त हुन सकेन ।
भारतका सूर्यकुमार यादवले ३९, श्रेयस आयरले २६ तथा कप्तान केएल राहुल ९ रन बनाए ।
भारतविरुद्धको खेलमा दक्षिण अफ्रीकाका लुंगी एनगिडी र एडिलेले ३–३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको अफ्रीकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो ।
अफ्रीकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए । दक्षिण अफ्रिकाका भान डेर डुसेन ५२ र डेभिड मिल्लरले ३९ रन बनाएका थिए ।
भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिँदा दीपक चाहर र बुम्राहले २–२ विकेट हात पारे ।