इटहरी । जेन्जी आन्दोलनका क्रममा विस्थापित भएको इलाका प्रहरी कार्यालय इटहरी रंगशालामा स्थापित हुने भएको छ । इटहरी उपमहानगरपालिकाको पहलमा रंगशालाबाट प्रहरी कार्यालय सञ्चालन हुने गरी अस्थायी संरचना बनाउन थालिएको वडाध्यक्ष जितेन्द्र थापाले जानकारी दिए ।
आन्दोलनकारीको आक्रमणका कारण कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतीग्रस्त भएपछि प्रहरीहरु तरहरास्थित प्रहरी चौकीमा आश्रय लिइरहेका थिए । प्रहरी कार्यालय पुनस्र्थापनाको लागि इटहरी उपमहानगरपालिकाले गठन गरेको प्रहरी प्रशासन पुनर्स्थापना सहयोग समितिको पहलमा इलाका प्रहरी कार्यालय इटहरी रंगशालामा बन्न लागेको समितिका संयोजक थापाले बताए ।
यो ठाउँ प्रहरीले अस्थायी रुपमा प्रयोग गर्नेछ । स्थायी भवन निर्माणका लागि भने इटहरीस्थित रेशम खेती तथा जुट विकास अनुसन्धान कार्यालयको जग्गा हेरिएको छ । त्यहाँ प्रहरी कार्यालय भवन बनाउनका लागि मन्त्रालयमा सिफारिस पुगिसकेर मन्त्रीपरिषद्को निर्णयको पर्खाइ छ । अहिले प्रहरी बस्न लागेको रंगशाला उक्त भवन बन्ने ठाउँबाटसमेत नजिक पर्छ ।
इलाका प्रहरी कार्यालयका लागि विभिन्न ठाउँ हेरेपनि हिरासतसहितको ठाउँ व्यवस्थापन हुने गरी रंगशाला छनोट गरिएको हो ।