विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक विश्वासको मत नदिने भएको छ ।
अहिलेको सरकारमा राप्रपा सहभागी भएको छैन । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले योपटक भने विश्वासको मत नदिने भएको हो ।
आफूहरूले मत दिए पनि सरकार नटिक्ने भन्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले ४२ जना देखाएमात्रै मत दिएर सहयोग गर्ने बताएका छन् ।
यद्यपि राप्रपाको कार्यसम्पादन समितिले अध्यक्ष राजेन्द्र लिङ्देनलाई कोशी प्रदेशबारे निर्णय गर्ने अधिकार समेत दिएको छ । नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर नेकपा (एमाले) नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् ।
गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यही असोज २० गते भित्रमा विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्दै छ । यसअघि प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधवार अन्त्य भएको थियो । विश्वासको मत लिने प्रयोजनका लागि बैठक अवहान गरिएको हो ।