धरानका मेयरद्वारा डिएसपी मल्लको सरुवा माग

न्युजलय ३० भदौ २०८०, शनिवार १२:०० मा प्रकाशित

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुखले आदेश अनुरुप काम नगरेको जनाउँदै  सरुवाको माग गरेका छन्।

मेयर साम्पाङले भदौ २७ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले स्थानीय सरकारको आदेश नमानेको जनाउँदै सरुवाको माग गरेका हुन्। मेयर साम्पाङका इप्रका धरानका प्रहरी प्रमुखले धरानमा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप समेत लगाएका छन्।

मन्त्रालयका लागि लेखिएको पत्रमा मेयर साम्पाङले धरान प्रहरी प्रमुख मल्लले शान्ति सुरक्षालाई वेवास्ता गर्दै ढुंगा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने गरेको र शान्ति सुरक्षामा खासै काम नगरेको उल्लेख गरेका छन्। केही दिनअघि उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड हुदाँसमेत प्रहरीको टोली समयमा पुग्न नसक्नुले शान्ति सुरक्षा कायम गर्न नसकेको उनको भनाइ छ।

उपमेयरको घरमा तोडफोड भइरहेको जानकारी हुदामेत प्रहरी प्रमुख मल्लले प्रहरी नपठाएको बताउँदै मेयर साम्पाङले स्थानीय सरकारको आदेश नमान्ने प्रमुखलाई कारबाही गरी सरुवा गर्न माग गरेको जनाएका छन्।

मेयर साम्पाङले आफूविरुद्ध गालीगलौच गर्ने, काम गरिरहँदा अनावश्यक प्रश्न गर्नेलाई पक्राउ नगरी असहयोग गरेको जनाएका छन्। केही दिनअघि धरान– १५ मा सचेतना अभियानको कार्यक्रममा मेयर साम्पाङलाई स्थानीय अशोक लिम्बूले प्रश्न गर्दा नगर प्रहरी लगाएर पक्राउ गरेका थिए।