इटहरी । इटहरी ६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा मानिसको दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विधार्थीहरुलाई जानकारी दिइएको छ ।
बुधबार विद्यालयमा अधययनरत एक सय भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो ।
सशस्त्र प्रहरी बल नम्बर १, बराह बाहिनी पकलीले सहजीकरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने विपद एवं प्रकोपबाट जोगिने उपाय बारे विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कुनैपनि प्रकोप वा विपदले पूर्व सूचना दिएर नआउने बताउँदै आईपर्ने दुर्घटनाबाट बच्न विपद व्यवस्थापन र क्षति न्यूनीकरण बारेको चेतना र पूर्व तयारी अत्यावश्यक रहेको खनालले बताए ।
विगतमा चीन र हाईटीमा गएको भूकम्पमा भएको मानवीय र भौतिक क्षतिको तुलना गर्दै विपद व्यवस्थापनका विज्ञ डिएसपी खनालले पूर्व तयारी र विपद सम्बन्धि चेतना भएकाले चीनमा मानवीय र भौतिक क्षति तुलनात्मक रुपमा कम भएको बताए ।
त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले यस्ता सचेतनामुलक प्रशिक्षणले कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढ्नुपर्ने विपद सम्बन्धि विषयहरुमा अझ जागरुक र सचेत बनाउँने बताउँदै समाजमा आइपर्ने विभिन्न प्रकोप एवम् विपद व्यवस्थापन, न्यूनीकरणमा योगदान गर्ने बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले कार्यक्रममा सहभागी बालबालिकाले विपदबाट जोगिने विषयमा राम्रो जानकारी पाएको बताउँदै यस्ता कार्यक्रमले भोलि हुने सम्भावित क्षति न्यूनीकरणका लागि चेतनशील समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान हुने बताए ।