विराटनगर । प्रदेश १ मा हालैको बाढी पहिरोबाट ७० जनाको मृत्यु भएको छ ।
प्रदेश १ मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार(आज) प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै बाढी पहिरोबाट सुनसरीमा ११ , इलाममा १४ जना, पाँचथरमा २८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।
प्रदेशभरमा ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको मुख्यमन्त्री आचार्यले बताए । यस्तै एक हजार ८२५ घरमा आंशिक क्षति भएको छ । उनले घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारका साथै घर पूर्ण रुपमा क्षति भएका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए ।
आंशिक क्षति भएका घरका सन्दर्भमा प्रति परिवार ३५ हजार र सामान्य क्षति भएका घरको सन्दर्भमा प्रति परिवार १५ हजार रुपैयाँ दिने निर्णय भएको उनले बताए ।