विराटनगर । मोरङको जहदा गाउँपालिका–७ भीमपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार स्थानीय ४४ वर्षीया कल्पनादेवी नुनिया आफ्नै घरको ग्वालीमा मृत फेला परेकी हुन्।
घटनाको प्रकृति हेर्दा घाँटीमा डोरीले कसेर हत्या गरेजस्तो देखिने उनले बताए। प्रहरीले कल्पनादेवी मृत फेला परेको जानकारी शनिबार दिउँसो २ बजेतिर पाएको हो।
जीसीका अनुसार ग्वालीमा कपडा ओढाएर राखिदिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि कल्पनाका दुई जना छोरा र बुहारीहरु फरार छन्।
एसपी जीसीले घटनापछि फरार रहेका जेठा छोरा २८ वर्षीय प्रधुम राजभर र कान्छा छोरा २१ वर्षीय चैतन्य राजभरसहित दुवै जनाका श्रीमतीको खोजी तीव्र पारिएको जानकारी दिए।
कल्पनादेवीका माइलो छोरा भने काम गर्न नारायणगढ गएको खुलेको छ। घरमा कल्पनादेवी, उनका पति विन्देश्वर नुनिया, दुई छोरा र बुहारी तथा बोल्न नसक्ने अवस्थाकी १७ वर्षीया छोरी बस्ने गरेका थिए। स्थानीय बासिन्दाका अनुसार प्रायजसो छोराहरुले कल्पनादेवीसँग झैझगडा गरिरहन्थे।
झैझगडाकै क्रममा डोरीले घाँटी कसेर उनको हत्या गरेपछि छोरा र बुहारीहरु फरार भएको हुनसक्ने प्रहरीको भनाइ छ।