विराटनगर । सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीको हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक बालक सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुद्धिन मिया,दुहबी–१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, १४ वर्षीय बालक, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम,बूढीगंगा–५ का २१ वर्षीय मोहम्मद नजरुल मिया र दुहबी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहम्मद आलम रहेका छन् ।
उनीहरूलाई मोरङको बुढीगङ्गाबाट पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दहालले पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनी विरुद्ध डाँका, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा अदालतमा दर्ता भएको छ । पक्राउ परेको समूहबाट ठुलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल समेत बरामद गरेको छ ।
यस्तै उनीहरूको साथबाट १ लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ समेत बरामद भएको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका २ जना प्रहरीमाथि बर्जू–१ मा शुक्रवार राति सो समूहले आक्रमण गरेको थियो ।