काठमाडौँ । प्रेस काउन्सिल नेपालले नाबालिग पीडितको पहिचान खुलाउने र पीडा दिने सामाग्री प्रकाशन प्रसारण गरेको भन्दै १० अनलाइन र १६ वटा युट्युब च्यानलमाथि कारबाही अगाडि बढाएको छ।
१० वटा अनलाइन नेपालभित्र हेर्न नमिल्ने र १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न प्रहरीको साइवर ब्युरोमा पठाएको छ।
पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल युट्युब बाट सम्प्रेषण भएका सामग्रीहरूको काउन्सिलबाट स्वअनुगमन भइरहेको बताइएको छ ।
काउन्सिलको विज्ञप्तिमा ‘अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेब पोर्टल र सामाजिक सञ्जाल समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष(विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको’ उल्लेख छ।
अनुमतिबिना तस्बिरसहित नाम जोडेर सामग्री सम्प्रेषण गरिएको भनी नेपाल प्रेस डटकमविरुद्ध काउन्सिलमा उजुरी दर्ता भएको र सो सम्बन्धमा उक्त अनलाइन मिडियाले उजुरीकर्ताको खण्डनलाई सम्बोधन गरेको देखिएको काउन्सिलले जनाएको छ।
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेब पोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले जनाएको छ।