सप्तरी । सप्तरीका १९ वर्षीया मौसमकुमार झाले केही दिनअघि मात्र आफूले निर्माण गरेको विद्युतीय बाइक सार्वजानिक गरेका छन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरिरहेका झाले विद्युतीय बाइक बनाएका हुन् ।
आत्मबल र ढृढ सङ्कल्प लिएर त्यसैमा लागिपरेका उनले आवश्यक सामान जम्मा गरेको करिब दुई सातामै यो बाइक बनाउन सफल भएको दाबी गरेका छन् । कोभिड महामारीको समयमा जारी लकडाउनको खाली समयमा उनी युट्युब र गुगलतिर आफूले बनाउन खोजेको बाइकबारे अनेक जानकारी बटुल्ने गर्थे ।
त्यसले उनलाई बाइक तयार पार्न निकै सहयोग गर्यो । व्यवहारिक ज्ञान बटुल्न थालेका झाले विद्युतीय बाइक आफैँ बनाउन सकिने कुरा पनि थाहा पाए । कसैको साथ, सहयोग र हौसलाबिना नै सुरु भएको उनको विद्युतीय बाइक बनाउने सपना अहिले आएर पूरा भएको छ । अहिले सबैले उनको कामको प्रशंसा गरिरहेका छन् ।
उनले विद्युतीय बाइक बनाउन आवश्यक केही सामान अमेजनबाट मगाए । बाँकी अन्य वेबसाइटहरूमा भेटे । यसका लागि आवश्यक सामान नेपालमा खासै पाइँदैन । त्यसैले सबै भारतबाटै मगाउनु पर्यो । भारतमा ती सामानहरू सस्तो पर्ने भएकाले बाइक पनि सस्तो मूल्यमा तयार भएको उनले बताए ।
उनले निर्माण गरेको बाइकमा लिथियम आइरन फोस्फेट ब्याट्री राखिएको छ । यो ब्याट्री फुल चार्ज हुन छ देखि सात घण्टासम्म लाग्छ । ६० किलोमिटर प्रति घण्टा गतिमा गुड्न सक्ने यो बाइकमा एक हजार वाटको पीएमबीडीसी मोटर जडान गरिएको छ ।
फर्वार्ड र रिभर्स दुवै गियरमा चल्नसक्ने यो बाइकमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम प्रयोग गर्दा त्यसबाट ब्याट्री चार्ज हुन्छ ।
जसले गर्दा बाइकले थप तीनदेखि चार किलोमिटर यात्रा तय गर्न सक्छ । फुल चार्ज गर्दा दैनिक दुई युनिट विद्युत खपत गर्ने यो बाइकमा एक पटक फुल चार्ज गर्दा ११० किलोमिटरसम्म गुड्ने झाको दाबी छ ।