विराटनगरको सप्तकोसी डेभलपमेन्ट बैंकका सीईओसहित तीनजना पुर्पक्षका लागि जेल चलान, दुई धरौटीमा छुटे

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०५:५४ मा प्रकाशित

विराटनगर । बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका विराटनगरको सप्तकोसी डेभलपमेन्ट बैंकका दुई कर्मचारी धरौटीमा छुटेका छन् । मुद्दामा बैंकका सीईओ नवीन सुवेदीसहित तीनजनालाई पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ ।

उच्च अदालत विराटनगरको आदेशानुसार बैंकको सेवा विभागका वरिष्ठ सहायक होमप्रसाद पौडेल दुई लाख र बैंकका अपरेसन प्रमुख अमित थापा जनही दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उक्त प्रकरणमा सातजना फरार सूचीमा छन् ।

उच्च अदालत विराटनगरका अनुसार बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सीईओ सुवेदीसहित पाँच र सातजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । फरार सात प्रतिवादीलाई अदालतले ३५ दिनको म्याद जारी गरेको बताइएको छ । 

फरार हुनेमा बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, खातावाला बबिता बस्नेत, वरिष्ठ सहायक शुभेच्छा निरौला, कमल दाहाल र मनोज भट्टराई छन् ।

बैंकका नौ कर्मचारी र तीन खातावाला गरी १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा यही फागुन १० गते मुद्दा दायर भएको थियो ।

बैंकको ट्राफिचोकस्थित कार्यालयबाट रेमिटेन्सको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएपछि सीईओ सुवेदीसहितका कर्मचारी पक्राउ परेका थिए ।