सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक कसुरदार ठहर

न्युजलय १७ कार्तिक २०८०, शुक्रबार ०१:१० मा प्रकाशित

विराटनगर । कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले सामुहिक बलात्कार मुद्धामा कसुरदार ठहर गरेको छ ।

प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउत दोषी ठहर भएका हुन् । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई बुधबार कसुरदार ठहर गरेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए ।

अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि दुवै जना २०७९ भदौमा करागार चलान भएका थिए । दुवै जनाले कति वर्ष कैद बस्नुपर्छ भनेर सजाय निर्धारण गर्नलाई आगामी कात्तिक २२ गतेको समय तोकिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षकसमेत रहेका उनीहरुले विराटनगरस्थित एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूलाई बलात्कार गरेको भनेर इटहरी घर भएर विराटनगरकै विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सुवेदी सोही कलेजका अनुशासन इन्चार्ज थिए । जाहेरीपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।

छात्रालाई नसालु पदार्थ सेवन गराएर दुवै जनाले समूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो । बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका उनले बारम्बार बलात्कार गरेको अनुसन्धानबाट थाहा भएको हो । सुवेदीले २०७९ जेठ अन्तिम साता भने छात्रालाई होटलमा लगेको र आफ्ना नजिकका साथी राउतलाई समेत बोलाएर सामुहिक बलात्कार गरेका थिए ।