ओमिक्रोनको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै, पीसीआर परीक्षणमा समेत देखिँदैन

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०१:२४ मा प्रकाशित

काठमाडौं । हाल विश्वमा तीव्र गतिमा फैलिरहेको कोभिड १९ को पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्टको पनि नयाँ उप–भेरियन्ट अहिले ४० मुलुकमा देखापरेको छ । बेलायतले बीए २ नाम दिएको यो भेरियन्ट आरटी–पीसीआर परीक्षणमा समेत नदेखिन सक्ने दाबी गरेको छ ।


सामान्यतया ‘स्टिल्थ ओमिक्रो’ बताइने यो भेरियन्टको तीव्र लहर युरोपमा फैलिने आशंका गरिएको छ । 


विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)का अनुसार ओमिक्रोनका तीनवटा उपभेरियन्ट– बीए १, बीए २ र बीए ३ रहेका छन् ।


विश्वभरि फैलिरहेको ओमिक्रोनमा मुख्यतया बीए १ रहेको तथा अर्को उप–भेरियन्ट बीए २ अहिले फैलिरहेको डब्ल्यूएचओले जनाएको छ । 


आगामी दुई सातापछि कोभिड १९ समस्या चरम स्थितिमा पुग्ने अनुमान गरिएको भारतमा बिए २ प्रचुरमात्रामा रहेको बताइएको छ । हालसम्म यो भेरियन्टको पहिलो संक्रमण कहाँ भेटियो भन्ने यकिन पुष्टि भएको छैन ।


तर बेलायतको स्वास्थ सुरक्षा निकायअनुसार त्यहाँ भने पहिलो पटक यो सन् २०२१ को ६ डिसेम्बरमा भेटिएको हो । अहिलेसम्म बेलायतमा यसका संक्रमितको संख्या ४२६ पुगिसकेको छ । बेलायत र डेनमार्क लगायत स्विडेन, नर्वे र भारतमा यो देखिएको । भारत र फ्रान्सका वैज्ञानिकहरूले यो बीए १ भन्दा पनि छिटो फैलिनसक्ने चिन्ता व्यक्त गरेका छन् । 


कोरोनाको यो नयाँ भेरियन्ट बीए २ को लक्षण ओमिक्रोनको जस्तै छ । तर ओमिक्रोन पहिचानका लागि खोजिने जेनेटिक स्रोत बीए २ मा भने हराइरहेको बताइएको छ । तैपनि यस अवस्थामा जेनेटिक सिक्वेन्सिङका माध्यमबाट यसको पहिचान गर्न सकिन्छ ।