इटहरी । इटहरीमा कर वृद्धिको कारण नगरवासीलाई आर्थिक भार परेको भन्दै नागरिक समाज इटहरीले विरोधका चरणबद्ध कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईले स्थानीय सरकार कर घटाउन इच्छुक नदेखिएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको बताइन् ।
इटहरी उपमहानगरपालिकालाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले बताइन् । जनआन्दोलनको समयमा गठन भएको नागरिक समाजले त्यसयता एकता दिवस मनाउने र इटहरीका समसामयिक विषयमा आफ्ना धारणा राख्दै आएको थियो । स्थानीय सरकारविरुद्ध चरणबद्ध विरोधका कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो ।
आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको र सर्वसाधारणले हातमुख जोर्न समस्या भइरहेको समयमा कर वृद्धि अन्यायपूर्ण भएको समाजको ठहर छ । नगर विकासको योजना समेत बनाउन नसकेको र पुँजीगत खर्च पुरै उपयोगसमेत गर्न नसकेको अवस्थामा कर बढाउनु उपयुक्त नभएकोसमेत जनाएको छ । कर तिर्नको लागि जग्गा बेच्ने अवस्था सृजना गराएको समाजको आरोप छ ।
नागरिक समाजले भाद्र २० गते बुधवार जनप्रतिनिधिहरूलाई एसएमएस पठाउने, २१ गते सामाजिक सञ्जालबाट कर वृद्धिको विरोध पोस्ट गरी शेयर गर्ने, २२ गते इटहरी उपमहानगरपालिकामा अगाडि मौन धर्ना दिने, २३ गते सरोकारवालाहरूसँग छलफल तथा बृहत् भेला गर्ने र २५ गते बृहत् नागरिक भेला गरी ‘नो ट्याक्स’ घोषणा गर्ने तयारी गरिएको छ ।