दुहबीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

न्युजलय १७ भदौ २०८३, बुधबार १२:२२ मा प्रकाशित

इटहरी । सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्त एग्रो इन्डस्ट्रिज प्रालि परिसरमा क्रेनले किच्दा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही उद्योगमा कार्यरत दुहबी–८ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन् ।

प्रहरीका अनुसार उद्योग परिसरमा बाँस बोकेर जाने क्रममा मण्डल अचानक चिप्लिएर भुइँमा लडेका थिए । सोही क्रममा पछाडि ब्याक भइरहेको को १ क ३०३४ नम्बरको क्रेनको चक्काले उनको टाउकोमा किचेको थियो ।

गम्भीर घाइते मण्डललाई तत्काल विराट मेडिकल कलेज, गंगाचोक मोरङ लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न क्रेन र चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का २७ वर्षीय छत्रबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल ट्राफिक प्रहरी पोस्ट दुहबीबाट करिब ४ किलोमिटर उत्तरमा पर्छ ।