नोबेलका मेडिकल कलेजका १० विद्यार्थी पुनः आन्दोलनमा उत्रिए

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०७:४७ मा प्रकाशित

विराटनगर । नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० जना विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । 

कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे।

नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

अंशिक माग सम्बोधन भएपछि १० जनाबाहेक अन्य विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थी सुरक्षा थ्रेट रहेको भन्दै स्थानान्तरणको पक्षमा छन् ।

गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ विग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।