इटहरी । रोटर्याक्ट क्लब अफ सुनसरीले इटहरीमा साँस्कृतिक उत्सव कार्यक्रम गरेको छ । साँस्कृतिक पहिचानका विभिन्न प्रस्तुती र प्यानल छलफलसहित कार्यक्रम गरेको हो ।
संस्कार, संस्कृति र सद्भाव वृद्धिका लागि कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष आयुष्मा अधिकारीले जानकारी दिइन् । कार्यक्रममा विभिन्न जातजाति तथा धर्मको भेषभुषासहितको र्याम्प वाक गरिएको थियो भने विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा सञ्चारकर्मी हिमाल दाहालले प्यानल छलफल सञ्चालन गरेका थिए । जसमा महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक मोहन तुम्बाहाङ, वरिष्ठ गायक तथा संगीतकार बालकृष्ण कार्की र साहित्यकार गंगा आचार्य घिमिरेले धर्मसंस्कृति र संस्कारका विभिन्न विषयहरुमा आफ्नो धारणा राखेका थिए । छलफलले धर्म, संस्कार र संस्कृतिलाई विकृतिमुक्त बनाउँदै जगेर्ना गर्नुपर्ने र सामाजिक सद्भाव कायम राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले धर्म संस्कृतिको विषयमा पछिल्लो समय केही विवाद देखिएकोले कार्यक्रमले सद्भावलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको बताए ।
क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।